असार ३०, २०७४-
रोल्पा नगरपालिका रोल्पा जिल्लाकै पहिलो नगरपालिका हो । दोस्रो चरणको स्थानीय तहको निर्वाचनबाट रोल्पा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका पूर्ण केसी निर्वाचित भए । ३६ वर्षीय केसी कांग्रेसका पूर्वसांसद लेखनाथ आचार्यलाई पराजित गर्दै मेयर निर्वाचित भएका हुन् । माओवादी नेता एवं अहिलेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराका छोरी ज्वाइँ भएकाले केसीको उम्मेदवारीमा अनेकन टिप्पणीसमेत भएका थिए ।
राजनैतिक पृष्ठभूमिका बारेमा बताइदिनुस् न ?सामान्य परिवारमा जन्मिएको मलाई जनताको काम गर्न पार्टीले थप जिम्मेवारी दिएर मेयरमा उम्मेदवार बनाएको थियो । निर्वाचनमा जित हासिल गरेपछि अब मैले रोल्पा नगरवासीलाई मुख्य आधार मानेर काम गर्नुपर्नेछ ।
रोल्पा नगरको विकासमा प्राथमिकता के–के हुनेछन् ?
एक घर एक रोजगारको नीति अनुसार प्रत्येक वडाका जेहेन्दार विद्यार्थी छनौट गरेर उनीहरूलाई नि:शुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने सोच छ । सहिद परिवारलाई मुख्य केन्द्रका राखेर उनीहरूको वृत्ति विकासका लागि ठोस योजना बनाउँछु । नगरभित्रै सञ्चालित सिटिइभिटी कक्षामा सबैलाई सहभागी बनाएर काम गर्नेछौं । नगरलाई इन्टरनेटसँग जोड्ने योजना पनि छ ।
यो नगरपालिकाका मुख्य समस्या के–के छन् ?
सडक, कृषि एवं सञ्चारको विकास नै मुख्य समस्या हुन् । रोजगारी सिर्जनाका साथै जलजला बहुमुखी क्याम्पसको श्रीवृद्धिलाई मुख्य ध्यान दिने योजना छ ।
कस्तो नगर बनाउने परिकल्पना गर्नुभएको छ ?
सबै प्रकारको विकास गरी रोल्पा नगरलाई मुलुककै नमुना बनाउने योजना छ । शैक्षिक, सांस्कृतिक एवं पर्यटकीय हब बनाउने योजना छ ।
आवश्यक साधन–स्रोत कसरी जुटाउनुहुन्छ ?
नगरमा अहिले ३८ करोड बजेट आएको रहेछ । त्यसमा स्थानीय आम्दानी जुटाई विकासका काम गर्ने योजना छ । भौतिक विकास गरेर नगरलाई सुसम्पन्न बनाउने योजनामा दाताहरूलाई समेत स्वागत गरिनेछ ।


No comments:
Post a Comment