असार ३०, २०७४- सर्वाधिक हेरिएको म्युजिक भिडियोमा साइको ‘गङनम स्टाइल...’ लाई विज खालिफाको ‘सी यु अगेन...’ ले उछिनेको समाचार अहिले दक्षिण कोरियामा व्यापक बनेको छ । र, यही बेला ‘ब्ल्याक पिंक’ को गीत ‘एज इफ इट्स योर लास्ट...’ को चर्चा पनि बबाल नै छ ।
चार सदस्यीय महिला ब्यान्डको उक्त गीत युट्युबमा हालेको तीन साताभित्रै ६१ मिलियन भ्युज बटुल्न सफल भएको छ । यति चाँडै यत्रो भ्युज पाउने पहिलो के(पप समूह बनेको छ, ब्ल्याक पिंक । रेग्गी शैलीको उक्त गीतबाट ब्यान्डले एकदमै नयाँ स्वाद दिएको स्थानीय संगीत समीक्षकहरूले बताएका छन् । केही दिनअघि ब्यान्ड मेम्बरहरूले आफूहरूसँग स्थापित लिडर (अगुवा) नभएको भन्दै खिन्नता प्रकट गरेको थियो । पावर एफएमको कार्यक्रममा ब्यान्ड सदस्यलाई उनीहरूको उमेर बताउन भनिएको थियो । तर, उनीहरूले जिसु सबैभन्दा जेठी अनि लिसा कान्छी भएको र आफूहरूबीच कोही लिडर नभएको बताएका थिए ।
ब्यान्डमा जेनी, लिसा, जिसु र रोजी आबद्ध छन् । उनीहरूले सन् २०१६ मा पहिलो एल्बम ‘स्क्वायर वान’ सार्वजनिक गरेका थिए । दक्षिण कोरियाली कम्पनी वाइजी इन्टरटेन्मेन्टले स्थापना गरेको यो ब्यान्डले छोटै समयमा लोभलाग्दो लोकप्रियता कमाइरहेको छ ।


No comments:
Post a Comment