असार ३०, २०७४- राप्रपाभित्र केन्द्रीय सदस्य मनोनयन विषयले तीव्र विवाद उत्पन्न गरेको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाले तत्काल निर्णय फिर्ता नलिए पार्टीभित्र विग्रह आउनेसम्मको चेतावनी दिएका छन् । अध्यक्ष कमल थापाले केही दिनअघि ४२ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्दा एकलौटी निर्णय गरेको भन्दै राणाले आपत्ति जनाएका हुन् ।
राणाले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘राप्रपालाई अध्यक्षको एकल बिर्ता’ का रूपमा रूपान्तरण गर्न खोजिएको टिप्पणी गरेका छन् । मधेसी, महिला, आदिवासी जनजाति, पिछडिएका क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र, दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको समेत कुनै ख्याल नगरी गरिएको मनोनयनको निर्णयले पार्टी विभाजन गर्न सक्ने चेतावनी राणाले दिएका छन् । ‘अध्यक्षको यो मनोगत निर्णय र कार्यले पार्टीमा अनिष्ट र विग्रहको स्थिति पैदा गर्ने भयले म ज्यादै चिन्तित भएको छु,’ राणाद्वारा जारी विज्ञप्तिमा छ ।
स्थानीय तह निर्वाचनको समीक्षा, आगामी चुनावी रणनीतिलगायत विषयमा छलफल गर्न साउन ४ गते केन्द्रीय समिति बैठक बोलाइसकिएको अवस्थामा गरिएको मनोनयनले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको अस्तित्वलाई समेत अध्यक्षले पूर्ण रूपमा नकारेको ठहर राणाको छ । ‘राप्रपालाई अध्यक्षको एकल बिर्तामा रूपान्तरण गरिएको सन्देश प्रवाहित गराइएको छ,’ राणाले भनेका छन्, ‘म यस कार्य र प्रवृत्तिको घोर निन्दा र भत्र्सना गर्दछु, म अध्यक्षमा यो सचेत गराउँदछु कि एकांगी रूपमा गरिएको सो निर्णय फिर्ता लिएर पार्टीलाई विग्रह र प्रत्युत्पादक आन्तरिक द्वन्द्वमा फस्नबाट बचाइयोस् ।’


No comments:
Post a Comment