महानगरलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने - All Over News

Breaking News

test banner

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, July 14, 2017

महानगरलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने


असार ३०, २०७४- काठमाडौं महानगरले आर्थिक वर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सुरु भएको महानगरको पहिलो नगर परिषदले महानगरलाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन आवश्यक पर्ने पूर्वाधार योजनाबद्ध रूपले विकास गरिने लक्ष्य रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले घोषणा गरे । 
यसका लागि २३ बुँदे कार्ययोजना उनले सार्वजनिक गरे । राजधानी सहर रहेको काठमाडौं महानगरपालिकाको प्रतिष्ठा झल्कने स्वरूपको गौरव गर्न लायक केन्द्रीय कार्यालय भवन, त्यस्तै प्रकृतिका वडा कार्यालय भवन बनाउँदै तीन वर्षभित्रमा सबै वडा कार्यालय आफ्नै भवनमा सञ्चालन गर्ने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘सुन्दर र जीवन्त महानगर बनाउने परिकल्पनासहित अघि बढेका छौं,’ प्रमुख शाक्यले भने, ‘योजना बनाएर जनउपयोगी निर्णय गरेका छौं । यसलाई महानगर कार्यपालिकाले पारित गरेको छ ।’

नीति तथा योजनामा विभिन्न नारासहितको कार्यक्रम बनाइएको छ । सार्वजनिक गरिएको कार्यक्रममा सामाजिक विकास एवं समाज कल्याण हाम्रो दायित्व, सक्षम युवा, उत्कृष्ट खेलकुद, उपयुक्त रोजगारी हाम्रो जिम्मेवारी,’ जनउपयोगी शिक्षा, सक्षम नागरिक, स्वस्थ नागरिक, स्वस्थ महानगर, स्थानीय सरकार पूर्वाधार विकासको आधार, हाम्रो आवास मौलिक र सुरक्षित आवासजस्ता कार्यक्रम अघि सारिएको छ । 

‘स्वस्थ वातावरणसहितको सुन्दर काठमाडमौं महानगर’ कार्यक्रमअन्तर्गत सार्वजनिक ठाउँमा ५० वटा स्मार्ट सार्वजनिक शौचालय र ५० ठाउँमै इ–ट्वाइलेट निर्माण गरिने उल्लेख छ । सडक सफाइमा आवश्यक उपकरण ब्रुमर, जेट मेसिन तथा रूख रोप्ने र ट्रान्सप्लान्ट गर्ने उपकरण खरिद गरी सहर सफाइ र हरियालीका लागि व्यवस्था मिलाउने, खुला क्षेत्र, नदी किनार, सडक किनार, सार्वजनिक जग्गा, पर्ति जग्गा तथा नदी किनारा क्षेत्रमा वृक्षरोपण गरी ग्रिन सिटीका रूपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ ।  
हचुवाका भरमा गरिने विकास निर्माणको कामलाई अन्त्य गरी महानगरको बीस वर्षे विकास योजना तयार पारिने कार्यक्रममा उल्लेख छ । यस बृहत्तर योजनामा ५ वर्षे आवधिक योजनासमेत निर्माण गरिने शाक्यले सार्वजनिक गरेको नीति कार्यक्रममा उल्लेख छ । यही योजनाको आधारमा वडादेखि केन्द्रसम्मका विकास र व्यवस्थापन कार्यहरू अगाडि बढाइने छ । यसका लागि महानगर सहरी योजना आयोग बनाइनेछ । आयोगमा सहरी विज्ञहरू सम्मिलित हुने छन् ।

महानगरको सहरी विकास योजनालाई महानगर तह, क्षेत्रगत तह र वडा तह गरी तीन तहमा निर्माण गरिने उल्लेख छ । वडास्तरको विकास निर्माण कार्यमा स्थानीय समुदायको व्यापक सहभागिता गराउने, प्रतिस्पर्धा सिर्जना गर्न स्थानीय टोल सुधार समितिमार्फत गरिने कार्यहरू पहिचान गरी ती कार्य जनस्तरबाट गर्ने व्यवस्था मिलाउने नीति कार्यक्रममा उल्लेख छ । भूउपयोग नीति तर्जुमा गर्न आवश्यक तथ्यांक संकलन गर्ने, सडक बत्ती र आधुनिक आकाशे पुल निर्माण गर्ने, रानी पोखरी, धरहरा, काष्ठमण्डपलगायत पुनर्निर्माण द्रुत गतिमा अघि बढाउने, मेघा हल निर्माण गर्ने, टेलिफोन, बिजुलीका तार जमिनमुनि गाड्ने, सार्वजनिक पोखरी संरक्षण गरी पर्यटक आकर्षण केन्द्र बनाउनेलगायत योजना छन् । भौतिक संरचना अपांग मैत्री बनाइने, लैगिक मैत्री बनाउने, जग्गा एकीकरण आयोजना शीघ्र सम्पन्न गर्ने, बसपार्कको स्तरोन्नति गर्नै, सरकारी तथा सार्वजनिक पर्ती जग्गाको अतिक्रमण रोक्ने जस्ता योजना छन् । 
‘सामाजिक विकास एवं समाज कल्याण हाम्रो दायित्व’ कार्यक्रमअन्तर्गत सरकारले ज्येष्ठ नागरिक, वृद्धवृद्धा, ५ वर्षमुनिका बालिबाकिला र अपांगलाई सार्वजनिक यातायात नि:शुल्क गर्ने योजना छ । महिला, बालबालिका, पिछडिएका वर्ग, सहरी गरिब, सिमान्तकृत, अल्पसंख्यकजस्ता लक्षित वर्गको जीवन स्तरमा सुधार ल्याउन विशेष कार्यक्रम ल्याइने, प्रत्येक वडामा कम्तीमा एकएक वटा ज्येष्ठ नागरिक मनोरन्जन तथा सेवा केन्द्र सञ्चालनमा ल्याइने उल्लेख छ ।
महानगरले जनउपयोगी शिक्षा र सक्षम नागरिक नारा पनि अघि सारेको छ । वर्तमान शिक्षा प्रणालीमा सुधार गरी गुणस्तरीय, व्यावहारिक तथा व्यावसायिक शिक्षाको विकासमा जोड दिइने नीतिमा उल्लेख छ । यसका लागि विद्यालय शिक्षाको गुणस्तर सुधार्ने, मातृभाषामा विद्यालय शिक्षा दिने, आवश्यक लैगिक सामग्री वितरण गर्ने व्यवस्था गरिने उल्लेख छ । सार्वजनिक शिक्षाको स्तरलाई उन्नत गराउन विद्यार्थी र अभिभावकको आकर्षण बढाउन अंग्रेजी माध्यममा पढाइने उल्लेख छ । प्राथमिक तहमा मातृभाषाको शिक्षालाई प्राथमिकता दिइने, काठमाडौं उपत्यकका आदिवासी नेवार जातिको भाषा नेपाल भाषाको प्रवद्र्धनमा विशेष ध्यान दिइने उल्लेख छ । 
त्यसैगरी माध्यमिक तहको शिक्षा अनिवार्य, नि:शुल्क र गुणस्तरीय बनाइने नीति कार्यक्रममा उल्लेख छ । निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई गुणस्तरीय बनाउन नियमित अनुगमन गर्ने, महानगरलाई शिक्षाको केन्द्रका रूपमा विकास गरिने योजना पनि महानगरको छ ।
‘हाम्रो काठमाडौं, उज्यालो काठमाडौं’ कार्यक्रमअन्तर्गत महानगर क्षेत्रलाई अँध्यारोबाट मुक्त गरिने नीति बनाइएको छ । यसका लागि सडक बत्ती, सार्वजनिक स्थल, सम्पदा क्षेत्रलगायतमा सौर्य ऊर्जाको विकास गरी झिलिमिली सहर बनाउने व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख छ । बिजुली बत्ती खपतलाई काठमाडौं महानगरको क्षेत्रभित्र ल्याई स्मार्ट मिटर जडान गर्ने अभियान सुरुवात गरिने, विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भुनाथ र हनुमानढोका दरबार क्षेत्रलगायत मठ मन्दिर, गुम्बा, बहाल, बही, घाटलगायत क्षेत्रमा सोलार बत्तीको व्यवस्था गरिने उल्लेख छ । 
सहज, सुलभ, सुरक्षित र व्यवस्थित सहरी यातायात कार्यक्रमअन्तर्गत निजी तथा साना सवारी साधनको प्रयोगलाई निरुत्साहित गरी महानगरवासीलाई सार्वजनिक यातायातको अधिकतम उपयोग गर्न हाल विश्वव्यापी चल्तीमा आएको सुविधायुक्त ठूला बस प्रयोग गर्ने,बस र्‍यापिड टान्जिट, मोनो रेल, सिटी केबल, ट्राम र मेट्रोजस्ता विभिन्न प्रकारका विकल्पको अध्ययन गरी उपयुक्त र बृहत्तर सहरी यातायात योजना बनाई लागू गरिने उल्लेख छ । विद्युतीय यातायातलाई प्रोत्साहन, साइकल सिटीको सोच अनुसार साइकल मैत्री सहहर बनाउन गुरुयोजना तयार पार्ने, छिमेकी नगरपालिकासँग समेत समन्वय गरेर बृहत् साइकल सञ्जाल बनाई स्मार्ट साइकल पार्किङ स्टेसन निर्माण गर्ने, बगमती किनारामा पशुपतिदेखि टेकुखोलाको किनारासम्म, विष्णुमती नदी किनारा र चक्रमथको ग्रिनबेल्टमा छुट्टै साइकल लेनको विस्तार गरी सुीरक्षत साइकल सवारी कार्यको सुरुवात गरिने शाक्यले सार्वज्निक गरेको नीतिमा उल्लेख छ । 
‘हाम्रो संस्कृति र सम्पदा, पर्यटनका लागि चिनारी रहन्छ सदा’ कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाभित्रका सांस्कृतिक चाड, पर्व तथा चलनहरूको इन्भेन्ट्री बनाई अभिलेख राख्ने, स्थानीय समुदायका जात्रा, पर्व तथा अन्य सांस्कृतिक क्रियाकलापको संरक्षण तथा संवद्र्धन गर्न आवश्यक सहयोग गर्ने, महानगरभित्रका सयौं वर्ष पुराना विहारको संरक्षण गर्न विहार संरक्षण तथा संवद्र्धन समिति गठन गर्ने, विशषे गरी पर्यटकीय तथा सांस्कृतिक दृष्टिले ती विहारमा हुने सांस्कृतिक गतिविधिलाई जीवन्त राख्न आवश्यक प्रोत्साहन दिइने उल्लेख छ । 
महानगर स्तरीय सांस्कृतिक संग्रहालय निर्माण गर्ने, पर्यटक आकर्षित गर्न हनुमान ढोका दरबार क्षेत्रमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने, शोभा भगवती, इन्द्रायणी, कंकेश्वरी क्षेत्र, पचली क्षेत्रलगायत धार्मिक र सांस्कृतिक क्षेत्रको वृहत्तर विकास योजना बनाई कार्यान्वयन गर्ने, पर्यटकको मौलिक बस्ती भ्रमण प्याकेज निर्माण गरी सम्बन्धित व्यापारीमार्फत व्यापकता दिने, सार्वजनिक जग्गा, डबली, सत्तल, पाटी, पौवा, मठमन्दिर, दाहसंस्कार गर्ने स्थल, किरिया बस्ने ठाउँ लगायतको स्थल संरक्षण गरिने नीति छ । 
‘सूचना तथा सञ्चार, सुसूचित हुन पाउनु हाम्रो अधिकार’ कार्यक्रमअन्तर्गत महानगरमा इ–गभर्नेन्स प्रणालीको विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने, यसका लागि अहिले महानगरमा कार्यान्वयन भइरहेको एमएआरएस प्रणालीलाई पूर्ण कार्यन्वयनमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ । महानगरवासीलाई लक्षित गरी व्यक्तिगत परिचयसमेत उल्लेख भएको महानगर स्मार्ट सिटिजन कार्डको व्यवस्था गर्ने, यस्तो कार्डको माध्यमबाट महानगरको सेवा, सुविधा प्राप्त गर्न सरल र सहज बनाइने उल्लेख छ । महानगरीय ब्रोडव्यान्ड नेटवर्क स्थापना, अर्वान युटिलिटी व्यवस्थापन गर्न आवश्यक कार्यक्रम ल्याइने, युवाका लागि लक्षित गरेर इ–लाइब्रेरी, मेट्रिक ठेगाना प्रणाली अझ व्यवस्थित गरिने, एकीकृत महानगर सूचना प्रणाली विकास गरिने लगायत कार्यक्रम छन् । 
‘हाम्रो मातृभाषा हाम्रो गौरव’ कार्यक्रमअन्तर्गत काठमाडौंका आदिवासी नेवार समुदायको भाषा संस्कृतिमा टेवा पुगोस् भनेर मंका दबु छे निर्माण गरिने, नेपाल भाषाको संवद्र्धनका लागि लाग्ने स्रष्टालाई सम्मान गर्न महानगर साहित्य पुरस्कार कोष स्थापना गरी वार्षिक रूपमा पुरस्कार दिइने, नेपाल भाषा तथा संस्कृतिको संरक्षण गर्ने कार्यमा संलग्न संस्थालाई गरिँदै आएको विकास र विस्तार कार्यलाई प्रोत्साहन गर्न आवश्यक अनुदान दिइने, नेपाल भाषा र रन्जना लिपिको विकासको रन्जना लिपिमा प्रकाशित पत्रपत्रिकाको उत्थान गर्न आर्थिक सहयोग गर्ने, नेपाल भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयन गर्न नेपाल भाषा डेस्क बनाइनेलगायत योजना छन् । 
‘आर्थिक विकास उन्मुख राजस्व नीति तथा वित्तीय व्यवस्थापन’ कार्यक्रम अन्तर्गत लगानीमैत्री कर व्यवस्था गर्ने उल्लेख छ । यसका लागि नेपलाको संविधानको अनुसूची ८ मा उल्लेख भएको अधिकारको सूचीअन्तर्गत स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमि कर, दण्ड जरिवाना, मनोरन्जन करको दायरासमेत फराकिलो बनाई कुनै पनि करदातालाई करको दायराभन्दा बाहिर नरहने अवस्था सिर्जना गरिने नीति कार्यक्रममा उल्लेख छ । महानगर परिषदको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले महानगर राजधानी महानगरसमेत भएकाले यसले गर्ने क्रियाकलाप अरूका लागि पनि उदाहरणीय हुनुपर्ने बताए ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here