असार ३०, २०७४- अपहरणपछि हत्या गरिएका घोराही–१२ हापुरका २८ बर्षिय व्यवसायी रणबहादुर घर्तीका परिवारले अझै पनि शव बुझेका छैनन् । दोषीलाई जन्मकैदको माग गर्दै उनीहरुले शुक्रबार घोराहीमा मौन जुलुश गरेका छन् ।
घर्तीका दुई छोराको शिक्षा र स्वास्थ्यको ग्यारेण्टी गर्दै हत्यारालाई जन्मकैद नहुँदासम्म शव नबुझ्ने बुवा गजमान घर्तीले बताए । जेठ २६ मा व्यवसायिक कामका लागि रुकुमतर्फ जाँदै गरेका घर्ती सल्यानको कपुरकोटबाट अपहरणमा परेका थिए । तुलसीपुर उपमहानगरपालिका–५ का ५३ बर्षिय व्यवसायी राजकुमार श्रेष्ठलाई अपहरण गर्न आएका अपहरणकारीलाई चिनेका कारण घर्ती अपहरित भएका थिए । अन्तमा अपराध लुकाउन अपहरणकारीले घर्तीको हत्या गरेका थिए ।
उनको शव ३४ दिनपछि सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे लेक भञ्ज्याङ जंगलमा फेला परेका थियो । श्रेष्ठको शव २१ दिनपछि लेक भञ्ज्याङ जंगलमै फेला परेको थियो । प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


No comments:
Post a Comment